रास्वपाका उम्मेदवार बालेन्द्र साहले दमकमा घरदैलो अभियान सुरु गर्ने
झापा–५ मा प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बालेन्द्र साहले सोमबारदेखि घरदैलो कार्यक्रम सुरु गर्ने भएका छन्।
पार्टीका अनुसार घरदैलो कार्यक्रम सोमबार बिहान ८ बजेदेखि दमक नगरपालिका–९ स्थित उराव बस्तीबाट सुरु हुनेछ। कार्यक्रममा सहभागी हुन समर्थक तथा स्थानीय बासिन्दालाई सोही स्थानमा भेला हुन आग्रह गरिएको छ।
बालेन्द्र साहको सचिवालयका अनुसार घरदैलो अभियान उराव बस्तीबाट सुरु भई पाणिनि स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन गरिनेछ।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार साहले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासो र सुझाव सुन्ने तथा आफ्नो चुनावी प्रतिबद्धता प्रस्तुत गर्ने रास्वपाले जनाएको छ।
पार्टीले स्थानीय बासिन्दा र समर्थकहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। उम्मेदवार साह शनिबार काठमाडौं फर्किएपछि हाल उनकी श्रीमती सविना काफ्ले झापाको दमकमा रहेर चुनावी गतिविधिमा संलग्न रहेको जनाइएको छ।