निर्वाचन आयोगद्वारा उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक
काठमाडौँ — निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२ (१) तथा अनुसूची–१० बमोजिम उम्मेदवारले मनोनयन पत्रसँगै पेस गरेको वैयक्तिक विवरण दफा २२ को उपदफा (३) अनुसार सार्वजनिक गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउन उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेको भन्दै कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारको विवरण आयोगको आधिकारिक वेबसाइटमार्फत प्रकाशन गरिएको हो।
उनले यसबाट मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आम नागरिकलाई उम्मेदवारसम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज हुने विश्वास व्यक्त गरे।
आयोगका अनुसार उम्मेदवारको वैयक्तिक विवरण निर्वाचन आयोगको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।