नेपाली कांग्रेस महामन्त्री गगन थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गरे
काठमाडौं, ३० पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गरेका छन्। आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाको मनोनयन दर्ता गरिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समिति स्रोतका अनुसार सभापतिमा हाल थापाको मात्रै उम्मेदवारी दर्ता भएको छ। अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन प्रक्रिया पूरा भइसकेको छ।
यसअघि बुधबार बिहान थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवासँग सहमतिका लागि वार्ता गरेका थिए, तर वार्ता सफल हुन सकेन। हाल दुई महामन्त्री कानुनविद्हरूसँग परामर्शमा रहेका छन्।
निर्वाचन समिति संयोजक सीताराम केसीका अनुसार उम्मेदवार मनोनयन दर्ताको समय सकिएको छ र दिउँसो १ बजे नामावली सार्वजनिक गरिने छ।