प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्ने
काठमाडौं — सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्तका प्रस्तावित पदाधिकारीको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
बिहीबार समितिका अध्यक्ष बोधनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा प्रस्तावित डा. राजिव सुब्बा र गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो।
समितिले प्रस्तावित पदाधिकारीहरूबारे सार्वजनिक उजुरी आह्वान गर्न शुक्रबार सूचना प्रकाशित गर्ने निर्णय पनि गरेको छ। प्राप्त उजुरीमाथि छलफल तथा सुनुवाइ प्रक्रिया अघि बढाउन साउन ५ गते समितिको अर्को बैठक बस्नेछ।
यसअघि असार १९ गते प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्त तथा डा. राजिव सुब्बा र गुरुप्रसाद वाग्लेलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि प्रस्तावित पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।