विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन आग्रह
काठमाडौँ, २२ पुस । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आगामी विशेष महाधिवेशनलाई मध्यनजर गर्दै आयोजनास्थल भृकुटीमण्डपको शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग आग्रह गरेका छन्।
विशेष महाधिवेशन पक्षधरले २७ र २८ पुसमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरिसकेका छन्। सोही सन्दर्भमा मंगलबार काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै आवश्यक शान्ति सुरक्षाको प्रबन्ध मिलाइदिन अनुरोध गरिएको हो।
विशेष महाधिवेशन पक्षधरको सचिवालयद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पठाइएको पत्रमा महाधिवेशनको समयमा आयोजनास्थल आसपास तथा काठमाडौँ क्षेत्रभित्र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखी आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरिएको उल्लेख छ।
पत्रमा भनिएको छ, “नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२ साल पुस २७ र २८ गते भृकुटीमण्डप, काठमाडौँमा हुने भएको हुँदा उक्त स्थान आसपास तथा काठमाडौँ क्षेत्रभित्र शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गर्दछौँ।”
विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र चासो बढिरहेका बेला सुरक्षा व्यवस्थालाई लिएर प्रशासनसँग औपचारिक पहल गरिएको हो।