अनुमतिबिना विदेशी शैक्षिक कार्यक्रम चलाए कारबाही हुने
काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले ए–लेभल, सिबिएसइ, आइबिडिपीलगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कारबाही गर्ने चेतावनी दिएको छ।
मन्त्रिपरिषद्ले विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र नियमन) नियमावली, २०८३ स्वीकृत गरेसँगै मन्त्रालयले विदेशी सम्बन्धनका कार्यक्रमको नियमनमा कडाइ गरेको हो।
मन्त्रालयका अनुसार अनुमति नलिई विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका संस्थाबारे जानकारी भएमा तीन दिनभित्र लिखित सूचना दिन आग्रह गरिएको छ। नयाँ नियमावलीले विदेशी विश्वविद्यालय वा शैक्षिक संस्थासँग सम्बन्धन लिएर सञ्चालन हुने कार्यक्रमका लागि थप मापदण्ड लागू गर्ने जनाएको छ।