नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु
काठमाडौं — नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ। पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक बिहान ११ बजे ललितपुरस्थित मेजेस्टिक ग्रेन्ड पार्टी प्यालेसमा बस्नेछ।
पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएपछि पुस ४ गते पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो। सोही बैठकको निर्णयअनुसार आजदेखि पुस २८ गतेसम्म दोस्रो बैठक बस्न लागेको हो।
केन्द्रीय कमिटी बैठकमा आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा विस्तृत छलफल हुने अधिकारीले जानकारी दिए।
यसका साथै बैठकमा केन्द्रीय सल्लाहकार परिषद् गठनका विषयमा पनि छलफल हुने जनाइएको छ। पार्टीमा यसअघि चुनाव पराजित भएका, अनुभवी तथा कार्यकारी जिम्मेवारीबाट अलग रहेका नेताहरुलाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने तयारी एमालेको छ।
एमालेले यसअघि नै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा घोषणापत्र मस्यौदा समिति तथा उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरिसकेको छ।