गगन थापा नेपाली कांग्रेसको सभापतिमा निर्विरोध निर्वाचित
काठमाडौं, ३० पुस — नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा पार्टीको सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। मनोनयन दर्ताको समय सकिँदासम्म सभापतिमा थापाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
निर्वाचन समितिका एक सदस्यका अनुसार थापाले अधिकृत वारेसनामामार्फत उम्मेदवारी दर्ता गराएका थिए। “मनोनयन दर्ताको समय सकिएको छ। सभापतिमा गगनकुमार थापाको मात्रै उम्मेदवारी परेको छ,” ती सदस्यले बताए।
यद्यपि निर्वाचन समितिले उम्मेदवारहरूको अन्तिम नामावली दिउँसो १ बजेपछि सार्वजनिक गर्ने जनाएको छ।
सभापतिपछि पार्टीको शक्तिशाली पद मानिने महामन्त्री पदमा भने प्रतिस्पर्धा हुने देखिएको छ। महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, उदयशमशेर जबरा र जगदीशनरसिंह केसीले उम्मेदवारी दर्ता गराएका छन्।