रवि लामिछानेले सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ताका लागि दिए निवेदन
काठमाडौं, ३० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध दायर केही मुद्दा फिर्ता गराउन महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएका छन्। उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी विभिन्न जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।
महान्यायाधिवक्ता कार्यालयका स्रोतका अनुसार लामिछानेले राजनीतिक पूर्वाग्रहका कारण लागेको भन्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको आरोप फिर्ता लिने आग्रह गरेका हुन्। उनका अनुसार, सहकारी ठगीमा मात्रै बढी कैद माग्न नसक्ने हुँदा यी आरोप थपिएको हो।
उनको निवेदन अहिले महान्यायाधिवक्ताको तहमै अध्ययन र छलफलमा रहेको छ। मुलुकको फौजदारी कार्यविधि संहिता २०७४ अनुसार केही जघन्य मुद्दा बाहेक फिर्ता लिन पाइन्छ, तर सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा प्रचलित कानुनअनुसार फिर्ता गर्न सकिँदैन।
लामिछाने केही समयअघि उच्च अदालत बुटबलबाट धरौटीमा कारागारमुक्त भएका थिए। उनीमाथि कास्की, रुपन्देही, काठमाडौं र चितवनमा पाँचवटा जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दा चलिरहेको छ।