एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलद्वारा पार्टी परित्याग
बुटवल, ३ माघ — नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन्। पौडेल रुपन्देही निर्वाचन क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ का बासिन्दा हुन्।
पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमार्फत पौडेलले पछिल्लो समय पार्टीभित्र मौलाउँदै गएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली–बेइज्जतीको संस्कृति, मोलाहिजा तथा गुटगत मनोविज्ञानसँग असहमति जनाउँदै पार्टी परित्याग गरेको जानकारी दिएका छन्।
विज्ञप्तिमा उनले पार्टी परित्यागपछि स्वतन्त्र रूपमा रहने उल्लेख गरेका छन्।
पौडेल एमाले नेता लिला गिरी मुख्यमन्त्री रहेको समयमा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ताको जिम्मेवारी सम्हालेका थिए। साथै, उनी एमाले नेतृत्वको सरकारका बेला कानुन आयोगको सदस्य समेत रहेका थिए।
उनको राजनीतिक यात्रामा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीको अध्यक्ष, एमाले रुपन्देहीको तीन कार्यकाल सचिवालय सदस्य, इलाका तथा क्षेत्रीय कमिटी सदस्यका रूपमा भूमिका निर्वाह गरेका थिए।
राजीनामा पत्रमा पौडेलले आफूलाई विभिन्न सरकारी नियुक्तिमा सहयोग गरेको भन्दै पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा तत्कालीन मुख्यमन्त्री लिला गिरीप्रति धन्यवाद व्यक्त गरेका छन्।