मतदाता नामावलीबारे निर्वाचन आयोगको कल सेन्टरमा बढ्दो जिज्ञासा
काठमाडौँ — निर्वाचन आयोगद्वारा सञ्चालित कल सेन्टरमा मतदाता नामावलीसम्बन्धी जिज्ञासा गर्नेको संख्या बढ्दै गएको छ। मतदाता नामावलीमा नाम समावेश भए–नभएकोबारे सर्वसाधारणबाट धेरै जिज्ञासा प्राप्त भइरहेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोगले माघ ५ गतेदेखि कल सेन्टर सञ्चालनमा ल्याएको हो। आयोग परिसरमा सञ्चालित कल सेन्टरमार्फत मतदाता तथा सरोकारवालाका विभिन्न जिज्ञासाको जवाफ दिइँदै आएको छ।
आइतबारसम्म कल सेन्टरमा ८८२ जनाले जिज्ञासा राखेका छन्। तीमध्ये मतदाता नामावलीसम्बन्धी ४२० जिज्ञासाको सम्बोधन गरिएको आयोगले जनाएको छ। त्यस्तै, निर्वाचन आचारसंहितासम्बन्धी ७२, मतदाता शिक्षासम्बन्धी ३६ र अन्य २६४ जिज्ञासाको उत्तर दिइएको छ। बाँकी जिज्ञासा निर्वाचनसँग सम्बन्धित अन्य विषयमा रहेको आयोगले स्पष्ट पारेको छ।
कल सेन्टर बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने आयोगले जनाएको छ। मतदाता, नागरिक तथा सरोकारवालाले निःशुल्क टोल–फ्री नम्बर ११०२ मा फोन गरी आफ्नो जिज्ञासा राख्न सक्नेछन्। एकैपटक १५ जनासम्मको कल व्यवस्थापन गर्न सकिने भएकाले कल होल्डमा नरहने व्यवस्था गरिएको छ।
निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण नभएसम्म कल सेन्टर सञ्चालनमा रहने सहायक प्रवक्ता जिसीले बताए।