मकवानपुरमा ट्रक–स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
८ माघ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–११ आँपचौरस्थित कान्तिलोकपथ सडक खण्डमा ट्रक र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जितपुरभञ्ज्याङतर्फबाट ठिंगनतर्फ जाँदै गरेको बा प्र ०३–००१ क ०९५२ नम्बरको बल्गर ट्रक र विपरीत दिशाबाट आउँदै गरेको म प्र ०३–०३९ प ५६४४ नम्बरको स्कुटर सडकको घुम्तीमा ठोक्किएका हुन्।
दुर्घटनामा स्कुटर चालक पर्साको वीरगञ्ज महानगरपालिका–१० पानीट्याङ्की निवासी ५० वर्षीय अनुराग श्रेष्ठ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीका नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
मृतकको शव हाल हेटौंडा अस्पतालमै राखिएको छ। प्रहरीका अनुसार ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाका कारण सडकमा कुनै अवरोध नभएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।