कांग्रेस विवाद चर्कियो, भृकुटीमण्डपमा नाराबाजी
३० पुस, काठमाडौं — नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सह–महामन्त्री फरमुल्लाह मनसुरलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको छ।
उक्त कारबाहीपछि विशेष महाधिवेशन पक्षधर नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन्। काठमाडौंको भृकुटीमण्डपमा चार दिनदेखि जारी विशेष महाधिवेशनस्थल बुधबार नाराबाजीले गुञ्जिएको छ।
विशेष महाधिवेशनका प्रतिनिधिहरूले सानेपास्थित पार्टी केन्द्रीय कार्यालय खाली गर्न माग गर्दै चर्को नाराबाजी गरेका छन्। उनीहरूले संस्थापन पक्षलाई कडा चुनौती दिँदै ‘गगन–विश्व आउँदैछन्, सानेपा खाली गर’ भन्ने नारा लगाएका थिए।
सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय तथा सह–महामन्त्रीलाई कारबाही गरिएको पत्र बुधबार नै निर्वाचन आयोगमा पठाइसकेको जनाइएको छ।
तर विशेष महाधिवेशन पक्षधरले देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति नै भंग भइसकेको दाबी गर्दै गरिएको कारबाहीको कुनै औचित्य नरहेको प्रतिक्रिया दिएका छन्। उनीहरूले विशेष महाधिवेशनबारे मंगलबार नै निर्वाचन आयोगलाई औपचारिक जानकारी गराइसकेको बताएका छन्।