पूर्व मन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध नक्कली शरणार्थी मुद्दाको सुनुवाइ सुरु
काठमाडौँ जिल्ला अदालतमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजनामा संलग्न भएको आरोपमा पूर्व गृहमन्त्रीसहित उच्च पदाधिकारीविरुद्ध दायर मुद्दाको अन्तिम सुनुवाइ सुरु हुँदैछ। जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ।
अभियोगपत्रअनुसार, अभियुक्तहरूले संगठित गिरोहको योजनामा नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने नक्कली कागजात तयार पारेको आरोप छ। यस प्रकरणमा पाँचवटा अभियोग समावेश छन् र करिब साढे दुई वर्षपछि अदालतले सुनुवाइ गर्न लागेको हो।
१० जेठ २०८० मा पूर्व उपप्रधानमन्त्री एवं एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित ३० जनाविरुद्ध किर्ते, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा दायर गरिएको थियो।
यसअघि ९ वैशाख २०८१ मा केशव दुलालसहित पाँच जना र ४ साउन २०८१ मा बेचन झाविरुद्ध पूरक अभियोगपत्र दायर भएको थियो। अदालतले थुनछेक बहस/आदेशबाहेक तीनवटै मुद्दालाई एकैसाथ सुनुवाइ गर्ने निर्णय गरेको छ।
अदालतले अनुपस्थित साक्षीहरूलाई बकपत्र गराइसकेको छ। प्रारम्भमा पक्राउ परेका केही अभियुक्तलाई ‘तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार’ ठहर गर्दै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको थियो। पछि केही अभियुक्त उच्च अदालतबाट धरौटीमा छुटेका छन् भने केही अझै थुनामा छन्।
यस प्रकरणमा मुख्य प्रतिवादीहरूमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापा, सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा नीरज राई छन्।
साथै, बिचौलिया केशव दुलाल, उनकी पत्नी दीपा हुमागाईं, सानु भण्डारी, सन्देश शर्मा, गिरोहका अन्य सदस्यहरू टंककुमार गुरुङ, मोहनराज राई, निरञ्जनकुमार खरेल, केशव तुलाधर, हरिभक्त महर्जन, लक्ष्मी महर्जन, राजेश अर्याल, विनीता सावदेन लिम्बु, सागर राई, आशिष बुढाथोकी, सुनिल बुढाथोकी, रामशरण केसी, अशोक पोखरेल, गोविन्दकुमार चौधरी, धिरेन राई, बेचन झा र टेकनाथ रिजालसमेत छन्।
प्रारम्भमा पक्राउ परेका १८ मध्ये २ जना धरौटीमा र १६ जना थुनामा छन्। १२ जना फरार थिए, जसमा केही पछि पक्राउ परे पनि केही अझै फरार अवस्थामा छन्।