रास्वपाले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता, मनाङमा दर्ता बाँकी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभरका १६५ मध्ये १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको छ। मनाङ निर्वाचन क्षेत्रमा भने हालसम्म रास्वपाको उम्मेदवारी दर्ता हुन सकेको छैन।
पार्टीका नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ का रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठका अनुसार मनाङबाहेक सबै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएको छ। उनका अनुसार मनाङका उम्मेदवारको बाटोमा अलमल परेका कारण समयमै दर्ता हुन नसकेको हुन सक्ने अनुमान गरिएको छ।
रास्वपाका सहमहामन्त्री तथा दाङ–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विपिनकुमार आचार्यले कूल उम्मेदवारमध्ये करिब आठ प्रतिशत महिला उम्मेदवार रहेको जानकारी दिए।
महिला उम्मेदवारमध्ये झापा–१ बाट निशा डाँगी, झापा–२ बाट इन्दिरा राना, मोरङ–५ बाट आशा झा, मोरङ–६ बाट रुबिना आचार्य, सुनसरी–१ बाट सरिन (गोमा) तामाङ, कास्की–३ बाट बिना गुरुङ, जुम्ला–१ बाट बिनिता कठायत, हुम्ला–१ बाट टासी लामा र कैलाली–१ बाट कोमल ज्ञवालीले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी धादिङ–१ बाट आशिका तामाङ, काठमाडौँ–१ बाट रञ्जु दर्शना, ललितपुर–३ बाट तोसिमा कार्की र चितवन–३ बाट सोविता गौतम उम्मेदवार बनेका छन्।
त्यस्तै सप्तरी–१ बाट पुष्पा चौधरी, महोत्तरी–४ बाट गौरीकुमारी यादव र सर्लाही–१ बाट नितिमा कार्कीले पनि रास्वपाका तर्फबाट मनोनयन दर्ता गराएका छन्।
रास्वपाले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेसँगै देशभर चुनावी गतिविधि तीव्र बनाउने तयारीमा जुटेको जनाएको छ।