आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा
काठमाडौँ, २२ पुस । भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी टी–२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा विश्वकपका लागि टोली सार्वजनिक गरेको हो। घोषित टोलीमा एनपीएल २०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान खेलाडी घोषित भएका शेर मल्ललाई समावेश गरिएको छ।
शेर मल्ल पहिलोपटक नेपालको सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका हुन्। उनको हालको प्रदर्शनलाई मध्यनजर गर्दै क्यानले विश्वकप टोलीमा अवसर दिएको जनाएको छ। यस्तै बसिर अहमद पनि विश्वकप खेल्ने टोलीमा परेका छन्।
तर, विश्वकप एसिया ईएपी छनोट प्रतियोगितामा सहभागी भएका कुशल मल्ल र मोहम्मद आदिल आलम भने अन्तिम १५ सदस्यीय टोलीमा अटाउन सकेनन्।
विश्वकपको तयारीका लागि टोलीले चाँडै विशेष प्रशिक्षण तथा अभ्यास खेलहरू खेल्ने क्यानले जनाएको छ। नेपाली टोलीबाट विश्वकपमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ।