राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु
काठमाडौं, ४ माघ
राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा अधिवेशन सञ्चालन हुन लागेको हो। आजको बैठक बिहान ११ः०० बजेका लागि बोलाइएको छ।
नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि वैकल्पिक रूपमा संघीय संसद् सचिवालयमै अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको हो।
अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए। अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ। साथै हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा माघ ४ गते आइतबार बिहान ११ः०० बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन्।
यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।
यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचन गर्ने तयारी गरिरहेको छ। आयोगका अनुसार राष्ट्रियसभा सदस्यतर्फ एक जना उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन्।
प्रतिनिधिसभाको निर्वाचनको तयारी समेत अगाडि बढिरहेको र राष्ट्रियसभामा नयाँ सदस्यहरू निर्वाचित भई आउने अवस्थामा रहेकोले यस अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।