प्रतिनिधिसभा निर्वाचनका लागि नमूना मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रयोजनमा प्रयोग हुने नमूना मतपत्रको छपाइ कार्य पूरा भएको छ।
निर्वाचन आयोगका अनुसार नेपाली सेनाको सुरक्षा घेरामा भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा नमूना मतपत्र छपाइ गरिएको हो। आयोगका सूचना अधिकारी सुमन घिमिरेले प्रतिनिधिसभा निर्वाचनका समानुपातिक र प्रत्यक्ष दुवै तर्फका गरी करिब १० लाख थान नमूना मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए।
उनका अनुसार आयोगको टोलीले छपाइ सम्पन्न भएका नमूना मतपत्रको आजै निरीक्षण गरी आवश्यक जानकारी लिएको छ।
निर्वाचन आयोगले जनाएको अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको नमूना मतपत्र सेतो कागजमा कालो रङ्ग प्रयोग गरेर छपाइ गरिएको छ भने पहिलो हुने विजयी हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ रातो रङ्ग प्रयोग गरिएको छ।
यसैबीच, सूचना अधिकारी घिमिरेले शुक्रबारदेखि समानुपातिक निर्वाचनतर्फ प्रयोग हुने वास्तविक मतपत्रको छपाइ सुरु हुने जानकारी पनि दिए।