सुदूरपश्चिममा प्रत्यक्ष निर्वाचनतर्फ महिला उम्मेदवार न्यून, प्रमुख दलको सहभागिता कमजोर
धनगढी — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रमुख राजनीतिक दलहरूले न्यून सङ्ख्यामा मात्र महिला उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा उतारेका छन्।
प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये प्रमुख दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कुनै पनि क्षेत्रमा महिला उम्मेदवार नउठाउँदा नेपाल कम्युनिष्ट पार्टीले भने एक जना महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ। उक्त पार्टीबाट विना मगर कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेकी छन्।
प्रदेशभर विभिन्न दल तथा स्वतन्त्र गरी १८ जना महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। साविकको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलाली निर्वाचन क्षेत्र नं १ बाट कोमल ज्ञवालीलाई उम्मेदवार बनाएको छ।
प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी पाँच निर्वाचन क्षेत्रमा महिला उम्मेदवार उठाउने दल नेपाल मजदुर किसान पार्टी रहेको छ। सो पार्टीले कैलाली क्षेत्र नं १ मा सुनिता भण्डारी, क्षेत्र नं २ मा लक्ष्मी पुनमगर, क्षेत्र नं ३ मा जुनु महतरा शाही, क्षेत्र नं ४ मा अमृता भूल र क्षेत्र नं ५ मा तृषण पुनमगरलाई उम्मेदवार बनाएको छ।
मितेरी नेपाल पार्टीले कैलाली क्षेत्र नं २ बाट सम्झना विष्ट थापा, क्षेत्र नं ३ बाट सुशीला थापामगर, क्षेत्र नं ५ बाट राधिकाकुमारी कार्की र डोटी जिल्लाबाट सरस्वतीकुमार पाल मल्ललाई उम्मेदवार बनाएको छ। आम जनता पार्टीले कैलाली क्षेत्र नं १ बाट रुपाकुमारी चौधरी, कञ्चनपुर क्षेत्र नं १ बाट सीता विक र क्षेत्र नं ३ बाट लक्ष्मीकुमारी विष्टलाई प्रत्याशी बनाएको छ।
नागरिक उन्मुक्ति पार्टी, नेपालले कञ्चनपुर क्षेत्र नं २ बाट प्रेमवती रानालाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय जनमोर्चाले कैलाली क्षेत्र नं ५ बाट शोभामणि जोशीलाई चुनावी मैदानमा उतारेको छ। कञ्चनपुर क्षेत्र नं १ मा मञ्जुदेवी सुनार र रुपादेवी विष्ट स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा छन्।
प्रदेशभर १६ निर्वाचन क्षेत्रमा पुरुष र महिला गरी कुल २०६ उम्मेदवार चुनावी मैदानमा छन्। सबैभन्दा बढी उम्मेदवार कञ्चनपुर क्षेत्र नं १ र २ मा समान १९–१९ जना रहेका छन् भने सबैभन्दा कम बझाङ जिल्लामा सात जना उम्मेदवार छन्।
यस निर्वाचनमा केही पूर्व प्रतिनिधिसभा सदस्यहरू पुनः प्रतिस्पर्धामा छन्। कांग्रेस नेता तथा विघटित प्रतिनिधिसभा सदस्य एनपी साउद कञ्चनपुर क्षेत्र नं २ बाट पुनः उम्मेदवार बनेका छन्। यस्तै, विघटित प्रतिनिधिसभाका सदस्य एवं एमाले नेता दामोदर भण्डारी बैतडीबाट, तारा लामा तामाङ कञ्चनपुर क्षेत्र नं १ बाट तथा कांग्रेस नेता पुष्पकुमार शाही अछाम क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा छन्।
यसैगरी, प्रेमबहादुर आले नेपाली कम्युनिष्ट पार्टीबाट कैलाली क्षेत्र नं ५ मा उम्मेदवार बनेका छन्। आले अघिल्लो निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का तर्फबाट डोटीबाट निर्वाचित भएका थिए।