डुडुवामा १६औँ पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान सुरु
जिल्लामा १६औँ पटक हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान सुरु भएको छ। आजदेखि आगामी १० दिनसम्म डुडुवा गाउँपालिकामा अभियान सञ्चालन हुने भएको हो।
अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी दिनभर, साँझ र रातिसमेत बिरामीका घरदैलोमा पुगेर औषधि खुवाउने डुडुवा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सीताराम चौधरीले जानकारी दिए। समस्या देखिएका स्थानमा स्थानीय प्रबुद्ध व्यक्तिहरूको सहभागितामा समूहगत छलफल गरी औषधि सेवनका लागि उत्प्रेरित गरिने उनले बताए।
यसअघि पालिकास्तरीय अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारणमा सरकारको लगानीबारे जानकारी दिएका थिए।
जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले १६औँ पटकसम्म अभियान चलाउनुपरेकोमा दुःख व्यक्त गर्दै अब दीर्घकालीन समाधानमा लाग्ने प्रतिबद्धता जनाए। डुडुवा–३ का वडाध्यक्ष आमोद तिवारीले अभियान सफल बनाउन जुनसुकै बेला परिचालित हुने बताए। डुडुवा–२ सबैभन्दा जोखिमयुक्त वडा रहेको जनाइएको छ।
अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगन्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ गरी कूल ३ लाख ५७ हजार ५१३ जनालाई औषधि खुवाउने लक्ष्य छ। यसका लागि ४३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।