निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रण गर्न निर्वाचन आयोग सक्रिय
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन नियन्त्रण गर्न तीव्र रूपमा आफ्ना गतिविधि अघि बढाएको छ । आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको जनाएको छ ।
आचारसंहिताको पूर्ण पालना गराउन आयोगले सरोकारवाला सबै पक्षलाई निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरी तथा सूचनाका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र विभिन्न संस्था गरी २१ जनासँग स्पष्टीकरण सोधिएको आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार तीमध्ये पाँच जनाबाट मात्र जवाफ प्राप्त भएको छ भने बाँकीको जवाफका लागि ताकेता भइरहेको छ ।
आचारसंहिता उल्लङ्घन गर्दै मिथ्या, भ्रमपूर्ण तथा घृणास्पद अभिव्यक्ति दिने व्यक्तिहरूको निगरानी भइरहेको र गैरकानुनी गतिविधिमा संलग्न व्यक्ति वा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनी दायरामा ल्याउने प्रयास भइरहेको आयोगले जनाएको छ ।
यसैबीच आयोगअन्तर्गत स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील रहेको बताइएको छ । सो इकाईले पहिचान गरेका ३०२ वटा हानिकारक सूचनालाई निर्वाचन आचारसंहिता, २०८२, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ तथा प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
निर्वाचनको मर्यादा र स्वच्छतामाथि प्रश्न उठ्ने कुनै गतिविधि देखिएमा आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र जिल्ला आचारसंहिता अनुगमन अधिकृतसमक्ष लिखित, मौखिक वा विद्युतीय माध्यमबाट उजुरी दिन सकिने आयोगले स्पष्ट पारेको छ ।