प्रधानमन्त्री कार्की र मधेस प्रदेश प्रमुख लाभबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभले शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा विविध समसामयिक विषयमा छलफल भएको छ।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले मधेस प्रदेशमा देखिएका राजनीतिक समस्या समाधानमा प्रदेश प्रमुख लाभले अभिभावकका रूपमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रशंसा गरिन्। साथै, पछिल्लो समय मधेसमा देखिएका सामाजिक समस्या समाधानमा पनि यस्तै सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “मधेस प्रदेशमा देखिएको राजनीतिक समस्या समाधानका लागि तपाईंले निर्वाह गर्नुभएको अभिभावकीय भूमिका प्रशंसनीय छ। आगामी दिनमा पनि समाजका सबै पक्षलाई समेट्दै शान्ति र सद्भाव कायम राख्न तपाईंले यस्तै भूमिका खेल्नुहुनेछ भन्ने विश्वास छ।”
आउँदो फागुन २१ गतेका लागि तोकिएको निर्वाचनलाई लक्षित गर्दै प्रधानमन्त्रीले सम्भावित चुनौतीप्रति सतर्क रहनुपर्ने धारणा पनि राखिन्। “देश अब निर्वाचनको माहोलमा प्रवेश गरिसकेको छ। यस्तो समयमा केही तत्वले चुनौती खडा गर्न सक्छन्,” प्रधानमन्त्री कार्कीले भनिन्, “त्यसतर्फ सचेत रहँदै समाजमा शान्ति, सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्षले आ–आफ्नो भूमिका खेल्नुपर्छ। तपाईंले पनि अभिभावकका रूपमा पहल गर्नुपर्छ।”
उनले राज्यका सबै संयन्त्र परिचालन गर्दै निर्वाचनका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन्।
प्रदेश प्रमुख सुरेन्द्र लाभले पनि मधेस प्रदेशमा शान्ति–सुव्यवस्था कायम राख्न आफ्नो तर्फबाट निरन्तर प्रयास भइरहेको र सुरक्षा तथा प्रशासनिक संयन्त्र सक्रिय रूपमा परिचालित भइरहेको जानकारी गराए।
भेटका अवसरमा प्रदेश प्रमुख लाभले आफूले पदभार सम्हालेपछिका दुई महिनामा गरेका गतिविधिको विवरण प्रस्तुत गर्नुका साथै मिथिलाका स्थानीय कलाकारद्वारा निर्मित जानकी मन्दिरको प्रतिमा र आफ्ना पुस्तक प्रधानमन्त्री कार्कीलाई उपहारस्वरूप प्रदान गरेका थिए।