इरानमा महँगीविरुद्धको प्रदर्शन हिंसात्मक, एक जनाको मृत्यु
काठमाडौं
बढ्दो महँगीविरुद्ध इरानमा भइरहेको प्रदर्शन हिंसात्मक बनेको छ। राजधानी तेहरानसहित इरानका प्रमुख सहरहरूमा पछिल्ला चार दिनदेखि निरन्तर प्रदर्शन जारी छ।
प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले उक्त जानकारी दिएको हो।
यसैबीच, तेहरानस्थित बेहेश्ती विश्वविद्यालयको छात्रावास नजिकैबाट प्रहरीले एक छात्रालाई नियन्त्रणमा लिएको तस्बिर सार्वजनिक भएको छ, जसले प्रदर्शन थप चर्किएको संकेत गरेको छ।
इरानमा पछिल्लो समय अत्यावश्यक वस्तुको मूल्य तीव्र रूपमा बढ्नुका साथै अमेरिकी डलरको तुलनामा इरानी मुद्रा रियालको मूल्यमा ठूलो गिरावट आएपछि जनआक्रोश बढ्दै गएको छ। यही आर्थिक संकटका कारण प्रदर्शनले उग्र रूप लिएको विश्लेषकहरूको भनाइ छ।
सरकारले प्रदर्शनलाई नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरेको छ भने अवस्था अझै तनावग्रस्त रहेको जनाइएको छ।