दोलखामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३४ जनाको उम्मेदवारी दर्ता
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा ३४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १४ वटा राजनीतिक दलबाट १४ जना र २० जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट अजयबाबु शिवाकोटी, नेकपा एमालेबाट पार्वत गुरुङ, नेकपा (नेकपा)बाट विशाल खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रविण थोकर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जगदीश खरेल तथा उज्यालो नेपाल पार्टीबाट निमादोर्जी लामाले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी राष्ट्रिय परिवर्तन पार्टी, आमजनता पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी), श्रम संस्कृति पार्टीलगायत अन्य साना दलका उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, उम्मेदवारी फिर्ता तथा निर्वाचन तयारीका अन्य प्रक्रिया निर्वाचन तालिकाअनुसार अघि बढाइने जनाइएको छ।