महामन्त्रीका गतिविधिले पार्टी विभाजनतर्फ जानु हुँदैन : कांग्रेस नेता लेखक
काठमाडौं, १७ पुस
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टीका महामन्त्रीहरूले गर्ने गतिविधि कांग्रेसलाई विभाजनतर्फ लैजाने खालको हुन नहुने बताएका छन्।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित भएको र विशेष महाधिवेशनको तयारी थालेको विषयमा वक्तव्य जारी गरेपछि संस्थापन पक्ष (सभापति शेरबहादुर देउवा निकट) का नेता लेखकले अनलाइनखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै यस्तो धारणा राखेका हुन्।
‘महामन्त्रीहरू कांग्रेसका मात्र होइन, भोलि देशकै नेता हुने सम्भावना बोकेका व्यक्ति हुन्,’ लेखकले भने, ‘उहाँहरूले गर्ने गतिविधिले पार्टी विभाजन नहोस्। यदि पार्टी विभाजनतर्फ गयो भने त्यसले उहाँहरूलाई, पार्टीलाई, लोकतन्त्रलाई र देशलाई नै नोक्सान पुर्याउँछ।’
कांग्रेसको नियमित महाधिवेशन निर्धारित समयमै हुन नसक्ने अवस्था बनेपछि महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार विशेष महाधिवेशन अनिवार्य भएको बताउँदै त्यसको तयारी अगाडि बढाइरहेका छन्।
सोही तयारीअनुसार महामन्त्री गगनकुमार थापा राजनीतिक प्रतिवेदन लेख्न काभ्रेको धुलीखेल पुगेका छन् भने अर्का महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको विषयमा सभापति शेरबहादुर देउवालाई जानकारी गराउने तयारी गरेका छन्।
महामन्त्रीद्वयले आज साँझ ५ बजे सभापति देउवालाई भेटेर छलफल गर्ने तयारी गरे पनि अन्तिम समयमा पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त छलफल स्थगित भएको जानकारी गराएका थिए।
थापा र शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने तयारी गरिरहेको बताइएको छ। विशेष महाधिवेशन पक्षधरले काठमाडौंको भृकुटीमण्डपसमेत भाडाका लागि बुकिङ गरिसकेको जनाइएको छ।
यता, कांग्रेसको संस्थापन समूह भने कुनै पनि हालतमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअघि पार्टी महाधिवेशन नगर्ने अडानमा रहेको छ। नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भइसकेको अवस्थामा फागुनको निर्वाचनपछि महाधिवेशन गर्न उपयुक्त हुने कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताउँदै आएका छन्।
तर महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि मात्रै चुनावमा जानुपर्ने अडान कायम राखेका छन्, जसका कारण कांग्रेसभित्र आन्तरिक विवाद थप चर्किँदै गएको छ।