डा. मीनेन्द्र रिजाल मोरङ–२ बाट पुनः चुनावी मैदानमा
६ माघ, विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डाक्टर मीनेन्द्र रिजाल मोरङ–२ बाट पुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका छन्। आगामी निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट उनले सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका हुन्।
पार्टीभित्रको आन्तरिक शक्ति सन्तुलन र समीकरणमा आएको फेरबदलपछि रिजालले टिकट पाएका हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई टिकट नदिँदा सुजाता कोइरालालाई उम्मेदवार बनाइएको थियो। तर, उक्त निर्वाचनमा कोइराला नेकपा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन्।
यसपटक सुजाता कोइराला दाबेदार नबन्दा डा. शेखर कोइराला समूहमा रहेका रिजालले अन्तिम समयमा टिकट हात पारेका हुन्। उनी संविधानसभा सदस्यसमेत रहिसकेका छन्।
नेपाली कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सञ्चालन गर्दा रिजाल विपक्षमा उभिएका थिए। शेखर कोइराला समूहमा रहेका उनले देउवा समूहसँग गगन–विश्व नेतृत्वसँग भएको छलफलमा सहभागिता जनाएका थिए।
सोमबार साँझसम्म रिजालले टिकट पाउने सम्भावना न्यून देखिएको भए पनि शेखर कोइरालाको जोडबलमा उनले अन्ततः टिकट पाएर मनोनयन दर्ता गराएका हुन्।
मोरङ–२ मा रिजालसँग प्रतिस्पर्धामा नेकपा एमालेबाट दिलिप बगडीया, नेपाली कम्युनिस्ट पार्टीबाट चन्द्रवीर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्णकुमार कार्कीसहित १७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्।
यसैगरी मोरङ–३ मा नेपाली कांग्रेस कोइराला समूहका डाक्टर सुनिल शर्माले उम्मेदवारी दर्ता गराएका छन्। उनी विशेष महाधिवेशन पक्षधर मानिन्छन्। उक्त क्षेत्रमा नेकपा एमालेबाट इरान राई, नेपाली कम्युनिस्ट पार्टीबाट डाक्टर देवेन्द्र सम्बाहाम्फे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश कार्की उम्मेदवार बनेका छन्।
मोरङ–३ मा सात जना स्वतन्त्रसहित कुल २१ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रका मतदाता संख्या १ लाख ५८ हजार ५७ रहेको निर्वाचन कार्यालयले जनाएको छ।