कांग्रेस काठमाडौं जिल्ला सभापति बानियाँद्वारा विशेष महाधिवेशनमा सहभागी हुन आह्वान
२४ पुस, काठमाडौं । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज)ले पुस २७ गतेदेखि सुरु हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत गर्दै वक्तव्य जारी गरेका छन्।
बिहीबार जारी वक्तव्यमा उनले विशेष महाधिवेशनको सफलताको कामना गर्दै प्रतिनिधिहरूलाई राजधानी काठमाडौंमा हार्दिक स्वागत गरेका हुन्।
वक्तव्यमा उनले पार्टी विधानको धारा १७(२) अनुसार २०८२ पुस २७ र २८ गते भृकुटीमण्डपमा दोस्रो ऐतिहासिक विशेष महाधिवेशन आयोजना हुन लागेको उल्लेख गर्दै भनेका छन्,
“नेपाली कांग्रेसका ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको विधिवत माग बमोजिम विशेष महाधिवेशन आयोजना हुन लागेको हो। यस ऐतिहासिक विशेष महाधिवेशनमा सहभागी भई पार्टीका लागि ऐतिहासिक निर्णय गर्न सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक आह्वान गर्दछु। साथै देशको राजधानी काठमाडौंमा स्वागत गर्दै विशेष महाधिवेशन भव्य र सफल होस् भन्ने कामना गर्दछु।”
पार्टीका कुल महाधिवेशन प्रतिनिधिमध्ये करिब ५४ प्रतिशतले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेका हुन्। यद्यपि, उक्त मागलाई पार्टीका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले मात्र सार्वजनिक रूपमा अपनत्व ग्रहण गरेका छन्।
यसैबीच, संस्थापन समूहका नेताहरूले विशेष महाधिवेशनको पक्षमा गरिएको हस्ताक्षर फिर्ता गराउन अनुरोध गर्ने निर्णय गरिसकेका छन्, जसका कारण पार्टीभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किएको छ।