बालेन शाहले राजीनामा होल्ड गरे, उम्मेदवारी दर्ता अघि अनिश्चितता कायम
काठमाडौं, ४ माघ । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफ्नो राजीनामा अन्तिम समयसम्म होल्ड गरेका छन्। निकटस्थ स्रोतका अनुसार उनी आजै राजीनामा दिने तयारीमा थिए, तर अन्तिम समयमा परिस्थितिका कारण राजीनामा रोकिएका हुन्।
उम्मेदवारी दर्ता भएपछि स्वत: पद खारेज हुने व्यवस्था भएकाले बालेनले तत्काल राजीनामा नदिई होल्ड गरेको उनका निकटस्थले बताएका छन्। ‘कांग्रेस अदालत गएको छ, चुनाव सर्ने वा अन्य अनिश्चितता रहन सक्छ, त्यसैले राजीनामा अहिले होल्ड गरिएको हो,’ नेताले भने।
बालेन शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्ने तयारीमा छन्। पर्सि माघ ६ गते उम्मेदवारी दर्ता गर्ने निर्वाचन आयोगको समय तोकिएको छ।
आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा रास्वपाको केन्द्रीय समिति बैठक बस्ने छ। मेयर शाह दिउँसो १ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम छ। पार्टी सभापति रवि लामिछाने पनि आजै जनकपुर प्रस्थान गर्ने छन् भने बालेन शाह साँझ ५ बजे जनकपुरका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
पार्टी कार्यालयमा बैठकअघि नेता तथा कार्यकर्ताको भिड बढ्दै गएको छ, र बैठकमा उम्मेदवार टुंगो लगाउने प्रक्रिया अगाडि बढाउने योजना रहेको छ।