निर्वाचनमा आधिकारिक स्रोतबाट मात्र समाचार प्रवाह गर्न आयोगको आग्रह
काठमाडौं। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा सञ्चार माध्यमहरूले आधिकारिक स्रोतलाई मात्र आधार मानेर समाचार तथा सूचना प्रवाह गर्न आग्रह गरेका छन्।
सार्वजनिक सेवा प्रसारण नेपालले आयोजना गरेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ आचारसंहिता अभिमुखीकरण’ कार्यक्रममा बोल्दै प्रमुख आयुक्त भण्डारीले निर्वाचनका बेला भ्रामक तथा असत्य समाचार फैलिन सक्ने जोखिमप्रति सचेत रहन सञ्चारमाध्यमलाई आग्रह गरे। नागरिकलाई यतिबेला सत्यतथ्य र विश्वासिलो सूचना अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै उनले सञ्चार माध्यमले निर्वाचन आचारसंहिताको पालना गर्ने र गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए।
“निर्वाचनसम्बन्धी समाचार प्रकाशन तथा प्रसारण गर्दा सकेसम्म आधिकारिक स्रोतलाई मात्र आधार बनाउन म आग्रह गर्दछु,” उनले भने।
प्रमुख आयुक्त भण्डारीले पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरी सामाजिक सञ्जालमा व्यक्तिको छविमा आँच आउने खालका श्रव्यदृश्य सामग्री फैलिन थालेको उल्लेख गर्दै यस्ता गतिविधि नियन्त्रण गर्न निर्वाचन आयोगले मेटा, टिकटकलगायत सामाजिक सञ्जाल प्लेटफर्महरूसँग सहकार्य गर्ने तयारी गरिरहेको जानकारी दिए।
कार्यक्रममा निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले निर्वाचन आचारसंहिता पालना गराउने र त्यसको निगरानी गर्ने जिम्मेवारी सञ्चार माध्यमको समेत हुने बताए। उनले विशेषगरी नेपाल टेलिभिजन, रेडियो नेपाल र राष्ट्रिय समाचार समिति (रासस)जस्ता सरकारी सञ्चार माध्यमले नागरिकसमक्ष सत्य, निष्पक्ष र आधिकारिक समाचार सम्प्रेषणमा अझ बढी जिम्मेवार भूमिका खेल्नुपर्ने धारणा राखे।
राउतले राससले आन्तरिक रूपमा निर्वाचन आचारसंहिता निर्माण गरेकोमा प्रशंसा गर्दै अन्य सञ्चार गृहहरूले पनि यस्तो अभ्यास सुरु गर्नुपर्ने बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सही सूचना प्रवाह गरी निर्वाचन सफल बनाउन सञ्चार माध्यमको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताइन्।
सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले सञ्चार माध्यमले निर्वाचन आचारसंहितासँगै पत्रकार आचारसंहिताको समेत पालना गर्दै पत्रकारिता गर्नुपर्नेमा जोड दिए। उनले सञ्चारकर्मीहरूले आफैंले आफ्नो कार्यप्रति आत्ममूल्यांकन गर्नुपर्ने बताए।
कुनै पनि राजनीतिक दल, उम्मेदवार वा विचारधाराको पक्षमा सामाजिक सञ्जालमा सामग्री राख्नेजस्ता गतिविधिबाट टाढा रहँदै निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्नुपर्ने उनको सुझाव थियो। कार्यक्रममा नेपाल टेलिभिजनले देशभरका आफ्ना समाचारदातालाई भिडियो कलमार्फत निर्वाचन आचारसंहिताबारे अभिमुखीकरण तालिम दिएको जानकारी पनि दिइयो।