कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थिति हुन भनिएको छ । बैठकमा महाधिवेशन विवादबारे छलफल हुने नेताहरूले बताएका छन् ।
बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा विज्ञप्ति जारी गरेर नियमित महाधिवेशन स्थगित गरेका थिए । उनीहरूले अबको विकल्प विशेष महाधिवेशन भएको बताएका छन् ।
महामन्त्रीद्वयले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा पार्टी विधानको दफा १७ (२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको बताएका छन् ।
कांग्रेसमा विशेष महाधिवेशन माग्दै गत असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए ।
त्यो हस्ताक्षर अनुरूप विशेष महाधिवेशन बोलाउने/नबोलाउने जिम्मेवारी केन्द्रीय कार्यसमितिको भएको संस्थापनको तर्क छ । तर विशेष महाधिवेशन पक्षधर भने ३ महिनाभित्र वास्ता नगरेकाले आफूहरूले नै विशेष महाधिवेशन बोलाउन बाध्य भएको बताउँदै आएका छन् ।