कोशी प्रदेशमा १० मन्त्री फेरिए, प्रदेशसभाका आधा सदस्य बनिसके मुख्यमन्त्री वा मन्त्री
विराटनगर । कोशी प्रदेश सरकारमा मंगलबार व्यापक पुनर्गठन गरिएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १० जना मन्त्री तथा राज्यमन्त्री परिवर्तन गरेसँगै प्रदेशसभामा मन्त्री बन्नेहरूको संख्या आधा पुगेको छ।
मंगलबार नियुक्त भएका १० जनामध्ये प्रदिपकुमार सुनुवार र रामप्रसाद महतो यसअघि पनि मन्त्री भइसकेका हुन् भने इन्द्रमणि पराजुली, इस्राइल मन्सुरी, तिलचन पाठक, भीम पराजुली, मानबहादुर लिम्बू र विदुरकुमार लिङ्थेप पहिलो पटक मन्त्री बनेका छन्। यस्तै उमाकान्त गौतम र शोभा चेम्जोङ पहिलो पटक राज्यमन्त्री बनेका हुन्।
९३ सदस्यीय कोशी प्रदेशसभामा हालसम्म ४६ जना सांसद मुख्यमन्त्री वा मन्त्री बनिसकेका छन्। प्रदेशसभामा सरकार गठनका लागि आवश्यक बहुमत ४७ हो। सभामुखलाई समेत गणना गर्ने हो भने मन्त्री बनेका र नबनेका सांसदको संख्या बराबरीमा पुगेको छ।
पहिलो कार्यकालमै मुख्यमन्त्री वा मन्त्री बनेकाहरूमा वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्रीहरू राजेन्द्रकुमार राई र केदार कार्की तथा पूर्व मन्त्रीहरू इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बू र हिमाल कार्की छन्। दोस्रो प्रदेशसभामा नयाँ आएका ४० जना सांसद भने यस अवधिमा मन्त्री वा मुख्यमन्त्री भइसकेका छन्।
२०७९ पुस १७ मा प्रदेशसभाको पहिलो बैठक बसेपछि कोशी प्रदेशमा सरकार गठन र विघटनको शृंखला निरन्तर चल्दै आएको छ। हिक्मतकुमार कार्की, उद्धव थापा र केदार कार्की नेतृत्वमा पटक–पटक सरकार बने र ढले। संविधानको धारा १६८ का विभिन्न उपधाराअनुसार बनेका सरकारहरू पटक–पटक सर्वोच्च अदालतको आदेशबाट समेत विघटन भए।
विशेषगरी उद्धव थापा नेतृत्वको सरकार सभाध्यक्षको मत प्रयोग गरी विश्वासको मत लिएको विषयमा सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि दुई पटक पदमुक्त भएको थियो। त्यसपछि अदालतको परमादेशअनुसार पुनः हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए।
हाल बहाल रहेको कार्की नेतृत्वको सरकार २०८१ वैशाख २७ गते गठन भएको हो। कांग्रेस–एमालेबीच २०८४ को निर्वाचनअघिसम्म पालैपालो सरकारको नेतृत्व गर्ने सहमति अनुसार यो सरकार केही महिना चल्ने र त्यसपछि कांग्रेस नेतृत्वमा सरकार बन्ने सहमति छ। तर आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि केन्द्रको राजनीतिक समीकरण फेरिए सरकारको आयु प्रभावित हुन सक्ने देखिन्छ।
मुख्यमन्त्री कार्कीले यसअघि मन्त्रीहरूलाई आधा–आधा कार्यकाल दिने प्रतिबद्धता जनाएकै आधारमा पछिल्लो मन्त्रिमण्डल पुनर्गठन गरिएको हो। सोहीअनुसार मंगलबार १० जना नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गरिएको प्रदेश सरकार स्रोतले जनाएको छ।
सरकार गठन–पुनर्गठनको लामो शृंखलापछि कोशी प्रदेशसभा अहिले ‘मुख्यमन्त्री र मन्त्री उत्पादन गर्ने थलो’ जस्तै बनेको राजनीतिक वृत्तमा टिप्पणी हुन थालेको छ।