कैलाली–१ बाट रेशम चौधरीको उम्मेदवारी खारेज
कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरिएको छ।
कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीको उम्मेदवारी बिहीबार निर्वाचन आयोगले खारेज गरेको हो। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले विज्ञप्ति जारी गर्दै प्रचलित कानूनअनुसार उनको मनोनयनपत्र कायम रहन नसक्ने ठहर गर्दै खारेज गरिएको जानकारी दिएको छ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय पाएका व्यक्ति प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार उम्मेदवार बन्न अयोग्य हुने व्यवस्था छ। यही कानूनी आधारमा चौधरीको उम्मेदवारी खारेज गरिएको जनाइएको छ।
यसअघि निर्वाचन आयोगले चौधरीलाई राजनीतिक दलको सदस्य हुनसमेत अयोग्य ठहर गरेको निर्णयलाई पनि आधार बनाइएको छ। चौधरीले राष्ट्रपतिबाट बाँकी सजायमा आममाफी पाए पनि सजायको प्रकृति परिवर्तन नभएकाले उम्मेदवारी खारेज गर्नुपरेको निर्वाचन अधिकृतको कार्यालयले स्पष्ट पारेको छ।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना, सशस्त्र प्रहरीका २ जना र एक दूधे बालकसहित ८ जनाको ज्यान गएको थियो। उक्त घटनाको मुख्य योजनाकारको रूपमा चौधरीलाई जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरेका थिए।
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरीले बर्दिया क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका थिए, तर त्यतिबेला पनि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो। त्यसपछि उनका बुवा लालवीर चौधरी स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका थिए र पछि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए।