सरकारले विदेशमा रहेका नेपालीलाई मतदानसहित चार ऐन संशोधन प्रक्रियामा
काठमाडौं । सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार दिने र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न विद्यमान चार वटा ऐन संशोधनको प्रक्रिया अघि बढाएको जनाएको छ।
सोमबार प्रतिनिधिसभा निर्वाचनबारे गृहमन्त्रालयमा जारी सर्वपक्षीय छलफलमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले संशोधन प्रक्रियाको जानकारी दिएका हुन्। उनले सर्वोच्च अदालतको फैसलासहित विभिन्न पक्षबाट आएका मागका आधारमा निर्वाचनसम्बन्धी कानूनहरू संशोधन भइरहेको बताए।
उनका अनुसार निर्वाचन ऐन, २०७३ र मतदाता नामावली ऐनमा आवश्यक संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने व्यवस्था गरिनेछ। मतपत्रमा ‘कसैलाई पनि समर्थन नगर्ने’ विकल्प राखिने र अन्तरजिल्ला समानुपातिक, प्रत्यक्ष वा दुवै तर्फ मतदान गर्न सकिने व्यवस्था समेत प्रस्तावमा समावेश गरिएको छ।
काफ्लेले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सुरक्षा योजना पनि तर्जुमा गरी कार्यान्वयनको चरणमा रहेको जानकारी दिए।