ट्रिनिडाड एन्ड टोबागोमा अमेरिकी राडार जडान : भेनेजुएलाको तेल तस्करी रोक्ने उद्देश्य
ट्रिनिडाड एन्ड टोबागोमा अमेरिकी राडार जडान : भेनेजुएलाको तेल तस्करी रोक्ने उद्देश्य
एजेन्सी । ट्रिनिडाड एन्ड टोबागोकी प्रधानमन्त्री कमला पर्साद–बिसेसरले संयुक्त राज्य अमेरिकाले द्वीपमा जडान गरेको नयाँ राडार प्रणालीले लागुऔषध तस्करी नियन्त्रणसँगै वासिङ्टनले प्रतिबन्ध लगाएको भेनेजुएलाको कच्चा तेलको अवैध आवागमन रोक्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन्।
हालका महिनामा अमेरिकाले ट्रिनिडाड एन्ड टोबागोसँग सैन्य सहकार्य तीव्र बनाउँदै आएको छ, जसलाई भेनेजुएलाले ‘आक्रामक संकेत’ भन्दै कडा आपत्ति जनाएको छ। अमेरिकी निर्देशित मिसाइल विध्वंसक सहभागी रहेको समुद्री सैन्य अभ्यासलाई काराकासले ‘उक्साहटमूलक’ र मदुरो सरकारलाई अस्थिर बनाउन गरिएको कदमका रूपमा व्याख्या गरेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा भेनेजुएलालाई दबाबमा राख्ने अमेरिकी नीति अझै कडा बन्दै गएको छ। ट्रम्प प्रशासनले मदुरो सरकारलाई लागुऔषध गिरोहसँग जोडिएको राज्य भन्दै उसको वैधतामा प्रश्न उठाइरहेको छ।
प्रधानमन्त्री पर्साद–बिसेसरले नोभेम्बर २७ मा नयाँ विमानस्थलमा अमेरिकी राडार जडानबारे पुष्टि गरेकी थिइन्। नयाँ वक्तव्यमा उनले राडार प्रणालीले ‘प्रतिबन्ध छल्न प्रयोग भइरहेका भेनेजुएलाली कच्चा तेल, हतियार, गोलाबारुद, लागुऔषध तथा अवैध आप्रवासनका गतिविधि पहिचान र नियन्त्रण गर्न मद्दत गर्ने’ बताइन्।
उनका अनुसार राडार जडानपछि ट्रिनिडाड एन्ड टोबागोको हवाई तथा समुद्री निगरानी क्षमता उल्लेख्य रूपमा बढेको छ। भेनेजुएलाले भने प्रधानमन्त्री पर्साद–बिसेसरलाई अमेरिकाको ‘भेनेजुएला विरोधी रणनीति’ मा सहभागी भएको आरोप लगाएको छ, जसलाई उनले अस्वीकार गरेकी छन्।
यसैबीच वासिङ्टनले गत अगस्टयता क्यारिबियन क्षेत्रमा ठूलो सैन्य बेडा तैनाथ गर्दै आएको छ। लागुऔषध नियन्त्रण अभियानको नाममा चलेका कम्तीमा २२ वटा समुद्री आक्रमणमा ८३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचारमा जनाइएको छ। कानुनी विज्ञहरूले यस्ता कारबाही ‘गैरन्यायिक हत्या’ को श्रेणीमा पर्न सक्ने चेतावनी दिएका छन्।