श्रम–संस्कृति पार्टीले ‘हर्कवाद’ सिद्धान्त घोषणा
हर्क साम्पाङ नेतृत्वको श्रम–संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्तका रूपमा ‘हर्कवाद’ अपनाउने घोषणा गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सोमबार सार्वजनिक गरेको अवधारणामा श्रम, संस्कृति र प्रविधिको संयोजनले मात्र देशको दिगो उन्नति सम्भव हुने दाबी गरिएको छ।
पार्टीका अनुसार ‘अनिवार्य श्रम, श्रमदान र आत्मनिर्भर उत्पादन–प्रणाली’ हर्कवादको मूल आधार हो। साम्पाङले गरिबी, अभाव र विभेदले मुलुकमा द्वन्द्व र अस्थिरता जन्माएको उल्लेख गर्दै नियमित श्रम र व्यवहारिक अभ्यासले मात्र सामाजिक–आर्थिक रूपान्तरण सम्भव हुने बताए।
अवधारणामा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था प्रमुख एजेन्डाका रूपमा अघि सारिएको छ। कार्यकारी राष्ट्रपतिको कार्यकाल ५ वर्ष र एक व्यक्ति अधिकतम दुई कार्यकाल मात्र निर्वाचित हुन पाउने प्रावधान छुट्याइएको छ। साथै राष्ट्रपति र उपराष्ट्रपति एउटै लिङ्ग वा जाति–समुदायबाट नहुने गरी समावेशी संरचना अनिवार्य हुने भनिएको छ।
नीति–दिशानिर्देशमा पाँच मुख्य क्षेत्र समेटिएका छन्—राजनीतिक तथा शासकीय सुधार, राष्ट्रियता र परराष्ट्र नीति, शिक्षा र युवा, आर्थिक नीति तथा श्रम, र सुशासन।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति–उपराष्ट्रपतिको व्यवस्था, विज्ञसमेत समावेश हुने मंत्रिपरिषद्, सांसद मन्त्री बनेमा पद निलम्बन, संघीय संरचनामा दुई सदन र प्रदेशमा एक सदन, तथा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव राखेको छ।
पार्टीले भौगोलिक अखण्डता रक्षा, सीमा सुरक्षामा सेना खटाउने, असंलग्न परराष्ट्र नीति अपनाउने, विवाहका आधारमा नागरिकता दिन कठोर मापदण्ड लागू गर्ने तथा सबै आइएनजिओ खारेज गर्ने नीति अघि सारेको छ।
हप्तामा तीन दिन मात्र कक्षा पढाइ र बाँकी चार दिन उत्पादन तथा साहित्यमा लगाउने नयाँ शैक्षिक मोडेल प्रस्ताव गरिएको छ। १२ कक्षासम्म खाना पकाउने र लुगा सिउन सिकाइने, कक्षा १२ पछि अनिवार्य सैनिक तालिम, शिक्षकलाई राजनीति नगर्ने व्यवस्था तथा ‘जेन–जेड’ का समस्या सुन्न छुट्टै आयोग बनाइने उल्लेख छ।
वैज्ञानिक कर प्रणाली, ‘एक घर–एक स्वरोजगार’ नीति, ‘एक गाउँ–एक उद्योग’ कार्यक्रम, स्वदेशी उत्पादनलाई प्राथमिकता, श्रमदान अनिवार्य, सरकारी खर्चमा मितव्ययिता, तथा श्रम गर्नेका लागि निःशुल्क स्वास्थ्य सेवा जस्ता एजेन्डा समेटिएका छन्।
धर्मनिरपेक्षताको कडाइका साथ धार्मिक परिवर्तनमा बलजफ्ती रोक, गल्ती गर्ने सरकारी कर्मचारीलाई सेवाबाटै हटाइने, पत्रकार र न्यायालयलाई गैरराजनीतिक बनाइने, तथा पार्टी–सरकारी बैठकहरू सार्वजनिक रूपमा ‘लाइभ’ गर्ने प्रावधानहरू प्रस्तुत गरिएको छ।
हर्क साम्पाङले प्रस्तुत गरेको ‘हर्कवाद’ अब पार्टीको आधिकारिक सिद्धान्तका रूपमा अगाडि बढाइने बताइएको छ।