अविरल वर्षाले देशभर विपद् बढायो, २४ घण्टामा ७३ घटना दर्ता; दुई जनाको मृत्यु
काठमाडौँ — अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपका घटना बढ्दै गएका छन्। पछिल्लो २४ घण्टामा देशभर ७३ वटा विपद्का घटना दर्ता भएका छन्। ती घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ८ः४५ बजेदेखि मंगलबार बिहान ८ः४५ बजेसम्मको अवधिमा बाढी, पहिरो, सर्पदंश, आगलागी, अविरल वर्षा तथा वन्यजन्तु आक्रमणका घटना भएका हुन्।
प्राधिकरणको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा पहिरोका ४० वटा घटना दर्ता भएका छन्। पहिरोका कारण २६ जिल्ला प्रभावित भएका छन् भने दुई जनाको मृत्यु भएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ धाँमीगाउँका ४६ वर्षीय मन्दिर साउद र ७६ वर्षीय लालबहादुर साउदको पहिरोमा पुरिएर मृत्यु भएको हो। उनीहरू घट्टमा पीठो पिस्न जाने क्रममा पहिरोमा परेका थिए।
यस्तै, बाढीका १४ वटा घटनाबाट १० जिल्ला प्रभावित भएका छन्। बाढीका कारण एक जना बेपत्ता र एक जना घाइते भएका छन्। मकवानपुरमा एक व्यक्ति स्कुटरसहित बाढीमा बेपत्ता भएको प्रवक्ता महतले जानकारी दिइन्।
त्यसैगरी, अविरल वर्षाका १२ घटनाबाट आठ जिल्ला प्रभावित भएका छन्। पछिल्लो अवधिमा सर्पदंशका चार, आगलागीको एक तथा वन्यजन्तु आक्रमणका तीन घटना पनि दर्ता भएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका अधिकांश स्थानमा भारी वर्षा भएको छ। देशभर रहेका ३८० वर्षा मापन केन्द्रमध्ये २७८ केन्द्रमा वर्षाको विवरण रेकर्ड भएको विभागले जनाएको छ। तीमध्ये ८३ वटा केन्द्र मानव सञ्चालित र २९७ वटा स्वचालित रहेका छन्।
गत २४ घण्टामा चितवनस्थित नारायणी फिल्ड अफिस केन्द्रमा सबैभन्दा बढी ३१९.८ मिलिमिटर वर्षा मापन भएको छ। उक्त केन्द्र आसपासका तीन स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको विभागले जनाएको छ।
विभागका अनुसार देशभरका २६ वटा केन्द्रमा १०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएको छ। निरन्तर वर्षाका कारण नदी तथा खोलामा बहाव बढ्ने, पहिरो खस्ने र सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।