बाजुरा लाम्पाटा घटना: १० जना पुर्पक्षका लागि थुनामा, ८ जना धरौटीमा रिहा
बाजुराको हिमाली गाउँपालिका–३ स्थित लाम्पाटामा भएको घटनासम्बन्धी मुद्दामा जिल्ला अदालत बाजुराले पक्राउ परेका २१ प्रतिवादीमध्ये १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
सोमबार सम्पन्न थुनछेक बहसपछि अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार १० जनालाई मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म थुनामा राख्न आदेश दिएको हो। अदालतले आठ जनालाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न तथा तीन जनालाई साधारण तारेखमा छाड्न पनि आदेश दिएको अदालत स्रोतले जनाएको छ।
पुर्पक्षका लागि थुनामा पठाइएकामा देवराज रावल, चन्द्रबहादुर रावल, किशोर रावल, नरेश रावल, कर रावल, शङ्कर रावल, रामदत्त रावल, कैलाश छत्याल, बुद्धि रावल र जयबहादुर रावल रहेका छन्।
यस्तै, मानबहादुर जेठारा, शेर रावल, वीर रावल, सुन्दर जेठारा, लामा रावल, गगन रावल, कालजङ्ग जेठारा र ज्ञानेन्द्र छत्याललाई जनही दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश भएको छ। बिर्खबहादुर रावल, परेलाल रावल र शान्त रावललाई भने साधारण तारेखमा छाडिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार घटनामा संलग्न भनिएका एक जना अझै फरार छन् भने अर्का एक जनाको ठेगाना खुल्न बाँकी रहेको छ।