रोममा लेबनान–इजरायल वार्ताको नयाँ चरण सुरु, युद्धविराम कार्यान्वयनमा जोड
रोम — अमेरिकी मध्यस्थतामा लेबनान र इजरायलबीच युद्धविराम कार्यान्वयन तथा सीमा क्षेत्रमा स्थायित्व कायम गर्ने उद्देश्यले मंगलबार इटालीको राजधानी रोममा नयाँ चरणको वार्ता सुरु भएको छ। मध्यपूर्वमा इजरायल, इरान र इरान समर्थित हेजबुल्लाहबीच बढ्दो तनावका बीच यस वार्तालाई महत्वपूर्ण रूपमा हेरिएको छ।
दुवै देशले गत जुन २६ मा वासिङ्टनमा सम्पन्न पाँच चरणको वार्तापछि युद्ध अन्त्य र सीमा क्षेत्रमा दीर्घकालीन स्थायित्व कायम गर्ने समझदारी गरेका थिए। तर इरान समर्थित हेजबुल्लाहले उक्त समझदारी अस्वीकार गर्दै आएको छ।
सम्झौताअनुसार हेजबुल्लाहको निशस्त्रीकरण, दक्षिणी लेबनानका विभिन्न क्षेत्रबाट इजरायली सेनाको क्रमिक फिर्ता तथा ती क्षेत्रको सुरक्षा जिम्मेवारी लेबनानी सेनालाई हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ।
लेबनानका राष्ट्रपति जोसेफ आउनले रोम पुगेको प्रतिनिधिमण्डललाई थप छलफलअघि इजरायली सेनाको तत्काल फिर्ता सुरु गराउन प्राथमिकता दिन निर्देशन दिएको बताइएको छ। वार्तासँग परिचित लेबनानी कूटनीतिक स्रोतका अनुसार, इजरायली सेना फिर्ता हुने क्षेत्रको सुरक्षा जिम्मेवारी सम्हाल्न लेबनानी सेना तयारी अवस्थामा रहेको छ। इजरायलले भने ती क्षेत्रको सुरक्षा सुनिश्चित गर्न लेबनानी सेनाको क्षमता प्रभावकारी रहेको पुष्टि चाहेको जनाइएको छ।
यसअघि शनिबार अमेरिकी सैन्य प्रतिनिधिमण्डलले बेरुतमा लेबनानी सेनासँग इजरायली सेनाको फिर्ती प्रक्रियाबारे छलफल गरेको थियो।
युद्धविराम लागू भए पनि दक्षिणी लेबनानमा इजरायली सेनाले सीमित सैन्य कारबाही तथा संरचना ध्वस्त पार्ने गतिविधि जारी राखेको लेबनानी सञ्चारमाध्यमहरूले जनाएका छन्। लेबनानी अधिकारीहरूका अनुसार मार्चदेखि जारी द्वन्द्वमा इजरायली आक्रमणबाट हालसम्म ४ हजार ३०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
यसैबीच, अमेरिकाले इरानमाथिको सैन्य दबाबलाई निरन्तरता दिइरहेको छ। हेजबुल्लाहले इरानको समर्थनमा इजरायलमाथि क्षेप्यास्त्र आक्रमण गरेपछि लेबनान पुनः क्षेत्रीय द्वन्द्वको केन्द्रमा पुगेको विश्लेषण गरिएको छ।
विश्लेषकहरूका अनुसार तेहरानले हेजबुल्लाहलाई आफ्नो क्षेत्रीय रणनीतिक प्रभाव कायम राख्ने प्रमुख माध्यमका रूपमा हेर्ने भएकाले युद्धविराम र राजनीतिक सहमतिलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन अझै चुनौती रहने देखिएको छ।