मुख्यमन्त्री यादवलाई सर्वोच्चको आदेशको पत्र अझै प्राप्त भएन
जनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सर्वोच्च अदालतले आफूलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिने गरी जारी गरेको परमादेशको औपचारिक पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन्।
सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवलाई तत्काल व्यवस्थापिका–सभाबाट विश्वासको मत लिन आदेश जारी गरेको थियो। तर आदेशको पत्र नआएको उल्लेख गर्दै उनले भने, “अब केही बेरपछि मेल खोल्छु, चिठी आएको छ कि छैन हेर्छु।”
मुख्यमन्त्री यादवले अदालतको आदेशलाई पूर्ण रूपमा स्वीकार गरेर अघि बढ्ने बताएका छन्। उनले विश्वासको मत लिन नसकेको अवस्थामा राजीनामा दिन आफू तयार रहेको संकेत पनि दिए।
“सर्वोच्चको परमादेशलाई शिरोधार्य गरी विश्वासको मत लिनका लागि परामर्श अघि बढाएको छु,” उनले भने, “विश्वासको मत लिन सकिन्छ वा सकिँदैन भन्ने पहिल्यै थाहा हुन्छ। यदि लिन नसक्ने स्थिति आयो भने राजीनामा दिनेछु।”
यसबीच, विश्वासको मतका लागि सत्ता गठबन्धन भित्र र विपक्षीसँग आवश्यक संवाद चलिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।