अरनिकोको जन्मस्थल प्रचार–प्रसार गर्नुपर्छ : सञ्चार मन्त्री खरेल
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय विभूति कलाकार अरनिकोको योगदानलाई विश्वसामु उजागर गर्न उनका जन्मस्थलहरूको प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको बताएका छन्।
मन्त्री खरेलले सोमबार ललितपुर महानगरपालिका–६ कनिवहाल पुगेर अरनिको जन्म भएको ऐतिहासिक स्थल, ओकुबहालस्थित रुद्रवर्ण महाविहार, महाबुद्ध तथा विद्याधरी देवी मन्दिरलगायत सम्पदा क्षेत्रको स्थलगत अवलोकन गर्दै सम्पदाको संरक्षण, प्रवर्द्धन र पर्यटकीय आकर्षण बढाउन सरकार सक्रिय रहने प्रतिबद्धता जनाए।
‘अरनिकोले चीनसम्म पुगेर मुर्तिकलाको असाधारण पहिचान बनाएका छन्। हामी संस्कृति र सम्पदामा धनी छौँ, यिनै सम्पदाहरूको संरक्षण र प्रचारले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई अझ परिचित बनाउन सक्छ,’ मन्त्री खरेलले भने।
उनले वडा कार्यालयहरुलाई जनतालाई प्रभावकारी सेवा दिने सबैभन्दा नजिकको सरकारी तह भन्दै संघीय सरकार र स्थानीय तहबीच समन्वय–सहकार्य आवश्यक रहेको उल्लेख गरे।
वडा नम्बर ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यले संघीय तहबाट बजेट ल्याउन कठिनाइ भएको बताउँदै मूर्त सम्पदा संरक्षणका लागि बजेट सहयोगको माग गरे। शाक्यले अरनिको यही वडामा जन्मिएको स्मरण गराउँदै कनिवहाल धातु र मुर्तिकलाको प्रमुख केन्द्र भएको जानकारी गराए।