कंसकार परिवारको हेटौँडामा सडक विस्तारविरुद्ध आन्दोलन
हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा भइरहेको सडक विस्तारका कारण रास्वपा नेतृ तथा पूर्व सांसद विन्दवासिनी कंसकारको परिवारले शनिबार विरोध प्रदर्शन गरेको छ। सर्वोच्च अदालतले जारी गरेको ‘स्टे अर्डर’ विपरीत जबरजस्ती संरचना भत्काइएको आरोप लगाउँदै कंसकार परिवारले पिपलबोटस्थित घर अगाडिको सडकमा टायर र काठ बालेर आन्दोलन गरेका हुन्।
परिवारका अनुसार सर्वोच्च अदालतले सडक सीमा क्षेत्रभित्र पर्ने संरचना नहटाउन अन्तरिम आदेश दिएकाले प्रशासनले आदेशको सम्मान गर्नुपर्ने थियो। तर स्थानीय प्रशासन र सडक डिभिजन कार्यालयले बल प्रयोग गर्दै संरचना भत्काउन जारी राखेपछि सडकमै उत्रिन बाध्य भएको कंसकार परिवारको भनाइ छ।
शनिबार साँझ गरिएको विरोध प्रदर्शनका कारण केहीबेर सो क्षेत्रमा यातायात अवरुद्ध भएको थियो।
यता, प्रशासनले भने हेटौँडा बजार क्षेत्रमा एसियन हाइवे मापदण्डअनुसार २५–२५ मिटर सडक सीमा खाली गराउने अभियानलाई तीव्रता दिइरहेको जनाएको छ। शनिबार बिहानैदेखि महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत ९.५ किलोमिटर क्षेत्रमा जेसिवी प्रयोग गरी घर टहरा भत्काउने काम गरिइरहेको सडक डिभिजनले जनाएको छ।
प्रशासनका अनुसार २५–२५ गज (२२.५ मिटर) क्षेत्रमा पर्ने संरचना हटाउने अभियान निरन्तर चलाइँदैछ, जसअन्तर्गत हेटौँडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल तथा बुद्धचोकदेखि सामरी पुलसम्मका अनधिकृत संरचना हटाइँदैछन्।