राष्ट्रिय सभा निर्वाचनका लागि मधेश प्रदेशको मतभार सार्वजनिक, कांग्रेस अगाडि
८ पुस, काठमाडौं — राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेशगत मतभार तयार भएको छ। निर्वाचन आयोगले निर्धारण गरेको मतभारअनुसार मधेश प्रदेशमा कुल १० हजार ८३९ मतभार रहेको छ।
मधेश प्रदेशमा १०७ प्रदेश सभा सदस्य र १३६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २७२ जना मतदाता छन्। प्रदेश सभा सदस्यतर्फको कुल मतभार ५६७१ र स्थानीय तहतर्फको ५१६८ मतभार कायम गरिएको छ।
प्रदेश सभामा एमालेका २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नागरिक उन्मुक्ति पार्टी, राप्रपा र संघीय समाजवादी पार्टीका १–१ जना प्रदेश सांसद छन्।
मतभारको हिसाबले कांग्रेस पहिलो स्थानमा रहेको छ भने दोस्रोमा एमाले र तेस्रोमा जसपा नेपाल छन्। चौथो स्थानमा माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी रहेको छ। तर कांग्रेस, एमाले र जसपा नेपालको तुलनामा अन्य दलहरूको मतभार उल्लेखनीय रूपमा कम छ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा ठूला दलहरू एक्ला–एक्लै प्रतिस्पर्धामा उत्रिए पनि साना दलको समर्थन निर्णायक बन्ने देखिएको छ। जसपा नेपाल, नेपाली कम्युनिस्ट पार्टी, जनमत पार्टी, लोसपा लगायतका दलहरू निर्णायक भूमिकामा रहने सम्भावना छ।
**दलअनुसार मधेश प्रदेशको मतभार यस प्रकार छः**
* एमाले: प्रदेश २५, स्थानीय तह ५७, कुल मतभार २४०८
* कांग्रेस: प्रदेश २२, स्थानीय तह १०२, कुल मतभार ३१०४
* जसपा नेपाल: प्रदेश १९, स्थानीय तह ५१, कुल मतभार १९२३
* जनमत पार्टी: प्रदेश १३, स्थानीय तह ३, कुल मतभार ७४६
* लोसपा: प्रदेश ९, स्थानीय तह २४, कुल मतभार ९३३
* माओवादी केन्द्र: प्रदेश ९, स्थानीय तह १८, कुल मतभार ७६६
* एकीकृत समाजवादी: प्रदेश ७, स्थानीय तह ११, कुल मतभार ५८०
* नागरिक उन्मुक्ति पार्टी, राप्रपा र संघीय समाजवादी पार्टी: प्रदेश १–१, मतभार ५३–५३
* स्वतन्त्र: स्थानीय तह ३, मतभार ३७५
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुने तय भएको छ। निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ।
मतदाता नामावलीमाथि दाबी–विरोध तथा उजुरीको छानबिनपछि पुस २२ गते दिउँसो ३ बजेदेखि ४ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।
पुस २३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ भने पुस २७ गते उम्मेदवारलाई नाम फिर्ता लिने अवसर दिइनेछ र सोही दिन अन्तिम उम्मेदवार नामावली सार्वजनिक गरिनेछ।
पुस २८ गते उम्मेदवारले निर्वाचन चिन्ह प्राप्त गर्नेछन्। माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ।