एड्सको अन्त्य गर्न स्वास्थ्यमन्त्री गौतमको आह्वान
काठमाडौँ — ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ’ भन्ने नाराका साथ आज ३८औँ विश्व एड्स दिवस नेपालमा मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर १ मा विश्व एड्स दिवस मनाउने प्रचलन छ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले भिडियो सन्देशमार्फत सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने कार्यमा सबैलाई एकजुट हुन आह्वान गरेकी छन्। उनले नेपालले लिएको ९५–९५–९५ लक्ष्य हासिल गर्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन्। यसअनुसार ९५ प्रतिशत एचआइभी सङ्क्रमितहरूले आफ्नो अवस्था थाहा पाउने, तीमध्ये ९५ प्रतिशतले औषधि उपचार पाउने र औषधि सेवन गर्नेमध्ये ९५ प्रतिशतको भाइरल लोड कम हुने लक्ष्य राखिएको छ।
डा. गौतमका अनुसार, हालसम्म नेपालले पहिलो ९५ लक्ष्यमा ९० प्रतिशत, दोस्रोमा ८८ प्रतिशत र तेस्रोमा ७६ प्रतिशत लक्ष्य हासिल गरिसकेको छ। उनले भने, “विश्वव्यापी वित्तीय सङ्कट र भेदभावका कारण अझै चुनौती कायमै छ। हामी सबैले मिलेर परिवर्तनकारी दृष्टिकोणबाट अगाडि बढ्नु आवश्यक छ जसले रोकथाम, उपचार र हेरचाहमा सबैको पहुँच सुनिश्चित गर्छ।”
उनीले नेपालले विगत दुई दशकमा एचआइभी नियन्त्रणमा उल्लेखनीय प्रगति गरेको र जेन-जी आन्दोलनको ऊर्जा एचआइभी प्रतिकार्यमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। सन् २०१० देखि २०२४ सम्म नयाँ सङ्क्रमण दर ७६ प्रतिशत र एड्स मृत्यु दर ७६ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार, नेपालमा हरेक दिन औसत १.७ जना व्यक्तिमा एचआइभी सङ्क्रमण हुन्छ भने २०२४ को अन्त्यसम्म अनुमानित ३४ हजार ३३७ व्यक्तिहरुमा एचआइभी सङ्क्रमण भएको छ।