पूर्वगृहमन्त्री रमेश लेखक जाँचबुझ आयोगमा दिए बयान
काठमाडौँ, १४ पुस – नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएको जनधनको क्षतिको विषयमा बयान दिन सिंहदरबारस्थित जाँचबुझ आयोगमा उपस्थित भएका छन्।
मध्याह्न करिब १२:३० बजे आयोग पुगेका लेखक करिब ३ बजे बयान सकेर बाहिरिएका थिए। जेनजी आन्दोलनको समयमा उनी गृहमन्त्री रहेका थिए।
आयोगले उनलाई पुस १३ गते उपस्थित हुन निर्देशन दिएको थियो, तर उनी एक दिन ढिला गरी उपस्थित भएका हुन्।
त्यस्तै, उनले आज पत्रकार सम्मेलन गरेर जेनजी आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेका छैनन्।
सरकारले जेनजी आन्दोलनको घटनाको छानबिनका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।