परिवारसँग सहमति नजुटेपछि गणेश नेपालीको शव टिचिङ सारियो
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह गरेका मुगुका युवा गणेश नेपालीको शव वीर अस्पतालबाट निकालेर टिचिङमा स्थानान्तरण गरिएको छ। परिवारले अझै शव बुझेका छैनन्।
परिवारका सदस्य र सरकारबीच राति भएको वार्ता सहमतिमा पुग्न नसकेपछि शवलाई टिचिङ सारिएको हो । राति १० बजे गणेशको शव टिचिङ लगिए पनि परिवार भने वीरमै छन् । गणेशका बुबाआमा रातभर वीरको जलन वार्डमै बसेको मुगुका आशिष देवकोटाले जानकारी दिए ।
मृतकका दाजु मदन नेपालीले सरकारी पक्षसँग छलफल गरेका थिए । परिवारको शिक्षा, स्वास्थ्य, भरणपोषणको ग्यारेन्टी र आवश्यक क्षतिपूर्तिको माग सरकार समक्ष राखिएको छ । छलफलको सहजिकरण गृहमन्त्री सुधन गुरूङनिकट मुगुका युवा अनिल बस्नेतले गरेका थिए । सरकारका तर्फबाट प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहाल पनि सहभागी भएकी थिइन् । परिवारको सबै माग पुरा गर्न सरकार पक्षले असमर्थता जनाएपछि सहमति हुन नसकेको देवकोटाले नेपाल प्रेसलाई बताए ।
‘सरकार पक्षबाट जसरी पनि लाश बुझ्न दवाव दिइयो । अनाधिकृत व्यक्तिहरू सरकार पक्षबाट वार्तामा संलग्न छन् । हामीलाई वार्तामा बस्न दिइएन,’ उनले भने ।
राति १० बजे प्रधानमन्त्रीकी प्रेस विज्ञ दाहालको उपस्थिति र काठमाडौँका सिडिओको रोहवरमा शव टिचिङ अस्पतालमा लगिएको हो । त्यसक्रममा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । जबरजस्ती शव उठाइएको भनेर अस्पताल परिसरमा मृतक पक्षले विरोध जनाएका थिए ।