माइतीघरमा जेन–जी समूहको प्रदर्शन, सुशीला कार्कीको राजीनामा माग
जेन–जी नेता मिराज ढुंगानाको नेतृत्वमा रहेको समूहले काठमाडौंको माइतीघर मण्डलामा आन्दोलन गरिरहेको छ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध उक्त समूहले सोमबार बिहानदेखि विरोध प्रदर्शन थालेको हो। प्रदर्शनमा सहभागी जेन–जी युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्।
आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको बताइएको छ। सो क्रममा एक जना प्रदर्शनकारीको कपडा च्यातिएको छ। प्रहरीसँगको झडपमा उनको शरीरको माथिल्लो भागका सबै लुगा च्यातिएपछि गञ्जीसमेत हातमा बोकेर उनले विरोध प्रदर्शन जारी राखेका छन्।
घटनास्थलमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ भने प्रदर्शन अझै जारी रहेको जनाइएको छ।