इजरायलका प्रधानमन्त्री नेतान्याहुले माफीको औपचारिक अनुरोध गरे पेश
काठमाडौँ– भ्रष्टाचार मुद्दामा जेल सजायको जोखिममा रहेकाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति आइज्याक हर्जोगसमक्ष औपचारिक माफीको अनुरोध पेश गरेका छन्। ६ वर्षदेखि चलिरहेको मुद्दाले देशलाई विभाजित गरिरहेको र राष्ट्रिय मेलमिलापमा बाधा पुर्याएको भन्दै नेतान्याहुले यस कदम उठाएको बताएका छन्।
नेतान्याहुका समर्थकहरूले आरोपलाई राजनीतिक रूपमा प्रेरित भनेका छन्। उनीमाथि अर्बपतिहरूबाट करिब दुई लाख ६० हजार डलर मूल्यका उपहार लिएको र मिडियाबाट अनुकूल कभरेज सुनिश्चित गरेको आरोप छ। तर उनले पत्रमा दोषी ठहर नगरी माफीको माग गरेका छन्।
राष्ट्रपति कार्यालयले सबै पक्षको राय लिएर निर्णय गर्ने बताएको छ। विपक्षी नेता यायर लापिद र यायर गोलानले माफी अस्वीकार गर्नुपर्ने र अपराध स्वीकार नगरी माफी माग्नु गलत भएको बताएका छन्। सरकारका मन्त्रीहरूले भने माफीले सामाजिक विभाजन घटाउन सक्ने दाबी गरेका छन्।
नेतान्याहु भ्रष्टाचार मुद्दा सामना गर्ने पहिलो कार्यरत इजरायली प्रधानमन्त्री हुन्। यसअघि पूर्वप्रधानमन्त्री एहुद ओल्मर्टले धोखाधडी मुद्दामा जेल भोगेका थिए। यद्यपि राष्ट्रपति हर्जोगको आवास बाहिर प्रदर्शनकारीहरूले माफी नदिन दबाब दिइरहेका छन्।