सुरक्षण मुद्रण केन्द्रबाट तेस्रो चरणमा १,१५० थान लाइसेन्स हस्तान्तरण
काठमाडौँ — सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको जिम्मा पाएको सुरक्षण मुद्रण केन्द्रले आज तेस्रो चरणमा १,१५० थान लाइसेन्स यातायात व्यवस्था विभागलाई हस्तान्तरण गरेको छ। यससँगै केन्द्रले हालसम्म ३,०८२ थान लाइसेन्स विभागलाई बुझाइसकेको छ।
विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार विभागले केन्द्रलाई हालसम्म ४,२०० आवेदकको विवरण पठाएको छ। पहिलो चरणमा ५१९, दोस्रो चरणमा १,४१३ र तेस्रो चरणमा १,१५० थान लाइसेन्स प्राप्त भएका हुन्।
खतिवडाका अनुसार केन्द्रले नयाँ काम सुरु गरेका कारण केही सामान्य प्राविधिक त्रुटि देखिएका छन्। लाइसेन्स छाप्ने प्रणालीमा अक्षर सीमा ३० सेट गरिएको हुँदा बढी अक्षर भएको विवरण अपूर्ण देखिने समस्या आएको र त्यसलाई म्यानुअल मिलान गर्न सुझाइएको उनले बताए।
हस्तान्तरण भएका लाइसेन्स विभागले चेकजाँच गरी अद्यावधिक गरेपछि मात्र सेवाग्राहीलाई वितरण गरिन्छ। वितरणका लागि विभागले आफ्नो फेसबुक पेजमार्फत सूचना सार्वजनिक गर्दै आएको छ।
कात्तिक १२ गते विभाग र सुरक्षण मुद्रण केन्द्रबीच सम्झौता भएपछि ६ महिनाभित्र १२ लाख लाइसेन्स छापेर उपलब्ध गराउने लक्ष्य लिइएको थियो। कात्तिक १६ गते सञ्चारमन्त्री जगदीश खरेलले पनौतीस्थित केन्द्रमा छपाई थालनीको सन्देश दिएका थिए।
पहिलो चरणमा भदौ २३–२४ को आन्दोलनका कारण रोकिएका अत्यावश्यक ५ सय थान लाइसेन्स छपाइको काम सुरु भएको थियो। मंसिर ५ गते ५१९ थान लाइसेन्स हस्तान्तरण गरिए पनि तीमध्ये केही प्रति मात्र वितरणयोग्य पाइएको थियो।
हाल अत्यावश्यक समूहमात्रै छापिँदै आएको विभागले अब बल्क छपाइतर्फ जाने तयारी भएको जनाएको छ। खतिवडाका अनुसार स्थायी सर्भर नहुँदा समस्या देखिएकाले नयाँ सर्भर खरिद प्रक्रियासमेत अघि बढाइएको छ।
केन्द्रले छपाइ प्रक्रिया केही ढिलो भए पनि उपलब्ध प्रविधि अनुसार समयमै कार्य सम्पन्न हुने आशा व्यक्त गरिएको विभागले जनाएको छ।