मङ्सिरसम्म सुदूरपश्चिम प्रदेशको बजेट खर्च ८.४ प्रतिशत मात्र
मङ्सिर, धनगढी — चालु आर्थिक वर्षको मङ्सिरसम्म सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित बजेटको आठ दशमलव चार प्रतिशत मात्र खर्च भएको छ।
आर्थिक मामिला मन्त्रालयको प्रतिवेदनअनुसार चालु खर्चतर्फ विनियोजित १३ अर्ब ६३ करोड ५५ लाख ४२ हजार रुपैयाँमध्ये मङ्सिरसम्म १६ दशमलव ५१ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ विनियोजित १९ अर्ब ८३ करोड पाँच लाख छ हजार रुपैयाँमध्ये भने दुई दशमलव ८९ प्रतिशत मात्र खर्च हुन सकेको छ।
राजस्व संकलनतर्फ सवारीसाधन करतर्फ यस अवधिमा २६ करोड ११ लाख ८९ हजार रुपैयाँ संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा २५ करोड ९७ लाख नौ हजार रुपैयाँ संकलन भएको थियो।
घरजग्गा रजिष्ट्रेशन दस्तुर भने घटेको छ। गत वर्ष मङ्सिरसम्म १५ करोड १७ लाख ७० हजार रुपैयाँ संकलन भएकोमा चालु आवको सोही अवधिमा आठ करोड २० लाख सात हजार रुपैयाँ मात्र संकलन भएको मन्त्रालयले जनाएको छ।
मनोरञ्जन कर, विज्ञापन कर र प्राकृतिक स्रोतबाट प्राप्त आयमा समेत उतारचढाव देखिएको छ। यद्यपि, अन्य सेवा शुल्क तथा बिक्री शीर्षकमा भने उल्लेखनीय वृद्धि भएको छ। गत वर्ष मङ्सिरसम्म चार करोड १२ लाख ५१ हजार रुपैयाँ संकलन भएकोमा चालु आवको सोही अवधिमा आठ करोड २३ लाख ५६ हजार रुपैयाँ पुगेको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब ६५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। गत आर्थिक वर्ष २०८१/८२ मा यो लक्ष्य एक अर्ब ६० करोड सात लाख १५ हजार रुपैयाँ थियो।
गत आवको मङ्सिरसम्म ४८ करोड ७६ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएकोमा चालु आवको सोही अवधिमा ४५ करोड २४ लाख ८४ हजार रुपैयाँ मात्र संकलन भएको छ।