ओली भन्छन्: निर्वाचन पर्खिरहेका छौँ, राष्ट्रिय फैसला चुनावबाट हुन्छ
काठमाडौं, १५ पुस — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको प्रतीक्षामा रहेको बताएका छन्। हालै सम्पन्न पार्टी महाधिवेशनले आन्तरिक रूपमा महत्वपूर्ण फैसला दिएको उल्लेख गर्दै उनले अब निर्वाचनमार्फत राष्ट्रिय फैसला दिन एमाले तयार रहेको धारणा व्यक्त गरे।
मंगलबार नेकपा एमालेले आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनले पार्टीको दिशाबारे स्पष्ट सन्देश दिएको बताए। उनले भने, “जसरी महाधिवेशनबाट हामीले धेरै कुराहरूको जवाफ दिएका छौँ, त्यसरी नै निर्वाचनबाट राष्ट्रिय फैसला पनि हामी दिनेछौँ। त्यसका लागि पार्टी तयार छ भन्ने सन्देश महाधिवेशनले दिएको छ।”
अध्यक्ष ओलीले देशमा को लोकप्रिय छ भन्ने बहस निर्वाचनसम्मै चलिरहने उल्लेख गरे। साथै उनले लोकतन्त्रलाई कसैले पराजित गर्न नसक्ने दाबी गर्दै लोकतन्त्र अन्ततः विजयी हुने बताए। “लोकतन्त्र अजेय छ, अपराजेय छ। यसलाई कसैले पराजित गर्न सक्दैन। लोकतन्त्रले नै जित्छ,” उनले भने।
फरक सन्दर्भमा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भावी प्रधानमन्त्रीका विषयमा भएको भनिएको सहमतिप्रति व्यंग्य गरे। “प्रधानमन्त्री बनाइसके मान्छेले। हामी चुनाव पर्खिरहेका छौँ,” उनले भने, “कहिले होला—फागुन २१ मा होला, वैशाखमा होला वा अर्को मंसिरमा होला। हामी चुनाव पर्खिरहेका छौँ।”
अध्यक्ष ओलीको उक्त अभिव्यक्तिलाई आगामी निर्वाचन केन्द्रित राजनीतिक सन्देशका रूपमा हेरिएको छ।